काठमाडौं । नेपाल आयाल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीस्थित डिपोको भण्डारण क्षमता अभिवृद्धि र स्थानान्तरण हुने भएको छ । सिनामंगल डिपोमा आज पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो ।
सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट बनाउन लागिएको हो । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको पायक पर्ने स्थानमा डिपो स्थानान्तरण हुन लागेको हो ।
कैलालीको गोदावरी नगरपालिका—८ मा पर्ने अत्तरिया चोकबाट पूर्व करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्व—पश्चिम राजमार्ग डिपो सार्न लागिएको हो । डिपो २० बिघा १६ कट्ठा ८ धुर जग्गा स्थानान्तरण हुनेछ ।
जग्गा प्राप्ति ऐन २०३४ अनुसार जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिससमेत भएको छ । हाल सञ्चालिन डिपो १ विघा ८ कट्ठामा रहेको छ । धनगढीमा हाल सञ्चालित डिपो २०३७ सालमा निर्माण भएको थियो ।
तत्कालीन समयमा सो ठाउँमा पेट्रोलियम पदार्थको माग दैनिक अधिकतम ४ गाडी थियो । १ विघा ८ कठ्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेकाले स्थानान्तरण गर्न लागिएको प्रादेशिक कार्यालयले जनाएको हो । आयल निगमका ७ वटा प्रादेशिक कार्यालय, ३ वटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र २ वटा हवाई इन्धन रिफ्युलिङ स्टेशन सञ्चालनमा छन् ।