काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा फाइनल (अन्तिम) कालोपत्र सकिएको छ । यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ ।
बन्दीपुर, आँबुखैरेनी र व्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढाइएको छ । पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढाइएको छ ।
दमौली बजारमा समेत सडक विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ साना पुल निर्माण सकिएका छन् ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ५० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।