Thursday, June 12, 2025

२०८२ जेष्ठ ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नवरात्रको तेस्रो दिन देशभरका शक्तिपीठमा घुइँचो


नवरात्रको तेस्रो दिन देशभरका शक्तिपीठमा घुइँचो

काठमाडौं । बडा दसैँ अर्थात् नवरात्रको तेस्रो दिन देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । नवरात्र शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ ।

यसैले देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी र जयवागेश्वरीलगायत देवी मन्दिर, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिन्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

नवरात्रको तेस्रो दिन आज शनिवारको सार्वजनिक बिदा परेकाले पनि भक्तजनको घुइँचो लागेको हो । नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको आह्वान गरी विशेष पूजा आराधना गरिँदै छ । नौ दिनसम्म नौ वटी देवीको विशेष पूजा हुन्छ । नौ दिनसम्म पूजा गरी विजयादशमीका दिन देवीको प्रसादका रुपमा प्रसाद र समृद्धिको प्रतीकका रुपमा जमरा लगाइन्छ ।