Thursday, August 21, 2025

२०८२ भाद्र ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

६८ हजारभन्दा बढी नेपालीद्धारा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति


६८ हजारभन्दा बढी नेपालीद्धारा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

काठमाडौं । आर्थिक वर्ष २०८२—८३ को पहिलो महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको श्रावण महिनाको प्रगति विवरण अनुसार कुल ६८,११० जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा पुरुषको संख्या अत्यधिक रहेको छ ।

विभागको तथ्यांक अनुसार, श्रावण महिनामा ५८,९४८ जना पुरुष र ९,१६२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो संख्याले वैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये महिलाको हिस्सा करिब १३.४५ प्रतिशत मात्र रहेको देखाउँछ ।

श्रम स्वीकृति लिनेहरूमध्ये सबैभन्दा ठूलो संख्या म्यानपावर कम्पनीमार्फत जानेहरूको छ । श्रावणमा ३१,८३० जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्, जसमा २९,१३० पुरुष र २,७०० महिला छन् ।

सोही अवधीमा २३,६४४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जसमा २०,५४७ पुरुष र ३,०९७ महिला रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ११,७७२ रहेको छ भने सरकार–सरकार प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जानेको संख्या ८६४ रहेको छ । वैदेशिक रोजगारीको आकर्षणसँगै ठगीका घटनाहरू पनि कायमै रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार श्रावण महिनामा मात्र ५८० वटा उजुरी दर्ता भएका छन् । ती उजुरीहरूमध्ये ७४ वटामा मिलापत्र गराइएको छ, भने २६ वटा मुद्दा अदालतमा दायर भएका छन् । यस अवधिमा पीडितहरूका लागि तीन करोड ५३ लाख ८३ हजार क्षतिपूर्ति रकम असुल गराइएको विभागले जनाएको छ ।