काठमाडौं । अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको पहिलो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोली १ सय ३० रनले पराजित भएको छ । अफगानिस्तानले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७० रन बनाउँदा अलआउट भयो । नेपालका निरजकुमार यादवले सबैभन्दा धेरै ५३ रन बनाए ।
अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र महबूब खानले २-२ विकेट लिए । यसअघि मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनायो । अफगानिस्तानका फैसल शिनोजादाले ९७, खालिद अहमदजाईले ७६ रन बनाए । नेपालका सन्तोष यादवले ३ विकेट लिए ।
यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपालली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग तीन खेलको अभ्यास शृङ्खला खेल्न लागेको हो । अभ्यास शृङ्खलाको दोस्रो खेल आउँदो आइतवार र तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ । यसअघि नेपाली १९ वर्षमुनिको टोलीले दिल्लीको युवा टोलीसँग अभ्यास शृङ्खला खेलेको थियो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ ।