Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘ग्लोबल’ सम्मेलन सुरु, नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीसँगको सहकार्य आवश्यकः आपूर्तिमन्त्री भण्डारी


‘ग्लोबल’ सम्मेलन सुरु, नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीसँगको सहकार्य आवश्यकः आपूर्तिमन्त्री भण्डारी

काठमाडौं । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को ‘ग्लोबल’ सम्मेलन तथा स्थापना दिवस सुरुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीसँगको सहकार्य मजबुत बनाउन नेपाल सरकार सदैव तयार रहेको बताए ।

गैरआवासीय नेपालीको यो कार्यक्रमले नेपालमा लगानीको वातावरण रहेको स्पष्ट सन्देश विश्व समुदायमा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालमा लगानीको वातावरण उपयुक्त रहेको र त्यसका लागि वर्तमान सरकारले आवश्यक सहजीकरण गरी वैदेशिक लगानीमैत्री कानुनी तथा नीतिगत व्यवस्था गरेको बताए । गैरआवासीय नेपालीमार्फत वैदेशिक लगानी परिचालन गर्नुका साथै गैरआवासीय नेपाली विकास कोषकोसमेत समुचित उपयोगका लागि नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य सहजीकरणसमेत गर्दै आइरहेको उनको भनाई थियो ।

सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्रचलित कानुनबमोजिम स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागि मात्र नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिई पूर्वाधारसम्बन्धी परियोजनामा सेयर, बण्ड र डिवेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामा भुक्तानी हुनेगरी नियमानुसार धितोपत्र निष्कासन गर्नसक्ने व्यवस्था गरेको मन्त्री भण्डारीले कार्यक्रममा जानकारी गराए ।

आर्थिक रूपान्तरणका लागि गैरआवासीय नेपालीहरूले विश्व बजारमा सिकेको सीप, जानेको प्रविधि र गरेको आम्दानीबाट नेपालले लिनसक्ने अधिकतम लाभका लागि नेपालले सधैँ सहकार्य गर्न सबै ढोका खुला राखेको उनको भनाई छ ।