काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान भएको छ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले सोमबार नेप्सेको सीईओका लागि आवेदन आह्वान गरेको हो । उक्त पदका लागि सूचना प्रकाशित मितिले सात दिन (यही फागुन १८) भित्र आवेदन दिन आह्वान गरेको हो ।
नेप्सेको सीईओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै, पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्ने व्यवस्था छ ।
नेप्सेको सीईओ छान्न अर्थ मन्त्रालयले आइतबार छनोट समिति गठन गरेको थियो । उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव पोखरेलको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा खोमराज खरेल सदस्य छन् । तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली छ ।