Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निर्माण व्यवसायी महासंघले सरकारसँग वार्ता गर्न टोली गठन


निर्माण व्यवसायी महासंघले सरकारसँग वार्ता गर्न टोली गठन

काठमाडौं, श्रावण ३१ । निर्माण व्यवसायीको टोली सरकारसँग वार्ता गर्न विभिन्न मागसहित आन्दोलन गर्दै आएको नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । आन्दोलनरत महासंघलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिक पत्र आएपछि कार्य समिति बैठकले अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय वार्ताटोली गठन गर्ने निर्णय गरेको हो ।

महासंघले सरकारबाट छलफलका लागि बोलाइनु सकारात्मक भएको ठहर गर्दै माग पूरा नभएसम्म सांकेतिक प्रदर्शन भने जारी राख्ने भएको छ । जसअन्तर्गत ७७ जिल्ला संघहरूले बुधबारदेखि आ–आफ्नो कार्यालयमा महासंघको नौबुँदे मागसहितको ब्यानर राख्ने भएका छन् । व्यवसायीहरूको अर्बौँ रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन–नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ताटोली गठन हुनुपर्नेलगायतका नौबुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा रहेको महासंघका प्रवक्ता शिवहरि घिमिरेले बताए।

तेस्रो चरणको आन्दोलनको अन्तिम दिन महासंघले मंगलबार सडक र सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिँदै दुवै कार्र्यालयमा सांकेतिक तालाबन्दी गरेको छ । शान्तिपूर्ण आन्दोलन गर्ने रणनीतिअनुसार व्यवसायीहरूले सेफ्टी ज्याकेट, हेलमेट र हातमा कालोपट्टी बाँधेर सांकेतिक तालाबन्दी गरेका हुन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा धर्नासहित सांकेतिक ताला लगाएको थियो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष ई. आङदोर्जी लामा (एडी) नेतृत्वको टोलीले सिँचाइ विभागमा नाराबाजी गर्दै सांकेतिक ताला लगाएको हो ।