काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यको प्रचार प्रसार गरिएको छ । अमेरिका कोलोराडोस्थित डेन्भरमा भएको ’ट्राभल एन्ड एडभेन्चर शो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वमै ‘साहसिक पर्यटन राजधानी’ का रूपमा प्रस्तुत गरेको हो । ८–९ मार्चमा सम्पन्न एडभेन्चर शोमा पर्यटन बोर्डले विशेष कार्यक्रम आयोजना गर्दै नेपाललाई साहसिक र सुरक्षित पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको हो ।
कार्यक्रममा बोर्डले सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छिन् । उनले मार्चदेखि मेसम्म नेपाल भ्रमण गरिसक्नुपर्ने छ । नेपाल भ्रमणका क्रममा लाग्ने खर्च बोर्डले बेहोर्ने छ ।
यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रवर्द्धन र प्रचारका लागि थप मद्दत पुग्ने बोर्डको विश्वास छ । एडभेन्चर शोको आधिकारिक वेबसाइटमा नेपाललाई साहसिक यात्राको राजधानीका रूपमा उल्लेख गरिएको छ ।
नेपाल पदयात्रा बाहेक पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप–लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटन गतिविधिले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।
कोरोना महामारीपछि नेपालमा पर्यटक भित्र्याउन पर्यटन बोर्डले संसारका विभिन्न देशमा पर्यटन प्रवर्द्धन, प्रचार र पर्यटन गतिविधिमा तीव्रता दिइरहेको छ । एड्भेन्चर शोमा नेपालका ९ निजी पर्यटन व्यवसायीको सहभागिता थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।