काठमाडौँ । अमेरिकामा चर्चित र विशेषतयुःवाहरूमाझ अत्यधिक प्रयोग हुने चिनियाँ सामाजिक सञ्जाल टिकटकले आफूमाथिको सम्भावित प्रतिबन्ध वा बाध्यकारी बिक्री रोक्न दिएको कानुनी चुनौतीमा धक्का व्यहोरेको छ ।
अमेरिकाको कोलम्बिया जिल्ला संघीय अपिल अदालतले टिकटकविरुद्ध अमेरिकी सरकारले अघि सारेको कानुनी दबाबलाई सही ठहर गर्दै सोविरूद्द टिकटकले पेस गरेको चुनौतीलाई अस्वीकार गरेको छ । बाइडेन प्रशासनको सो निर्णय सन् २०२५ को सुरुमा लागू हुने तयारीमा छ ।
यसले अमेरिकाका झन्डै १७ करोड टिकटक प्रयोगकर्तालाई प्रत्यक्ष प्रभाव पार्नसक्नेछ । अदालतले अमेरिकी सरकारको उक्त निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोडिएको जोखिम सम्बोधन गर्न ध्यानपूर्वक तयार पारिएको कदमको रूपमा व्याख्या गरेको छ ।
टिकटकले यो प्रतिबन्धबाट अमेरिकी नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताको हकमा प्रतिकूल असर पार्ने तर्क गरे पनि अदालतले यसलाई दुई प्रमुख पार्टीका विधायकहरूबीच सहमतिमा भएको निर्णय भन्दै विदेशी प्रभाव र विशेषगरी चीनको सम्भावित सुरक्षा जोखिमबाट बच्न लिइएको उपायको रूपमा समर्थन गरेको हो ।