काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक उद्घाटनमा अर्थमन्त्री पौडेलले सीमित स्रोतबीच सामूहिक प्रयासका कारण विश्वव्यापी रूपमा नै दिगो विकास लक्ष्य प्राप्तिका लागि ‘अदिस अबाबा एजेन्डा’ कार्यान्वयनमा महत्त्वपूर्ण प्रगति भएको बताए । अल्पविकसित र विकासोन्मुख देशमा वित्तीय अन्तरविकास गतिको निरन्तरताका लागि महत्त्वपूर्ण मुद्दा भएको धारणा राखे ।
अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौती रहेको बताए । अधिकांश अल्पविकसित र विकासोन्मुख देशले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले डिजिटल आर्थिक कारोबारका नयाँ मोडालिटीलाई करको दायरामा ल्याउने गरी कर प्रशासन क्षमता सुदृढ र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे ।