काठमाडौं । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ४ विधाका ४ प्रेरक व्यक्तित्वहरुलाई ग्लोकल स्किल हीरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो । कलाको पहिलो स्तम्भ अन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रा. लि.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरियो । आयुषी २०१८ मा फोब्र्सको ३० अन्डर ३०, एसियाको सामाजिक उद्यमी वर्गमा पर्न सफल भएकी थिइन् ।
साथै २०१९ मा सामाजिक उद्यमशीलताको क्षेत्रमा उनको योगदानको कदर गर्दै एशिया सोसाइटी २०१९ को सदस्यका रूपमा पनि सम्मानित गरिएको छ । यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापालाई सम्मानित गरियो । नेपालमा विश्वस्तरीय आतिथ्य सेवा र शिक्षा ल्याउन उनको महत्वपूर्ण योगदान रहेको छ । साथै विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठ सम्मानित भए ।