हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।
आज सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर झन्डै साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माई खोला हाइड्रोपावर र कुमारी बैंकको डिबेन्चर २०९० झन्डै ६ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।