Saturday, July 05, 2025

२०८२ असार २१, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

बूढीगण्डकी ‘रेडी टू गो’ आयोजना हो, यसलाई हरहालतमा अगाडि बढाइन्छः प्रधानमन्त्री दाहाल


बूढीगण्डकी ‘रेडी टू गो’ आयोजना हो, यसलाई हरहालतमा अगाडि बढाइन्छः प्रधानमन्त्री दाहाल

गोरखा, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने बताएका छन् ।

गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फील्ड अफिस’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशन समेत दिए ।

उनले भने, ‘यो ‘रेडी टू गो’ आयोजना हो । आयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउन तयारी गरिरहेका छौं । अब कुनै पनि तर्क वा बहानामा काम ढिलाइ गर्न छूट छैन, निर्माण प्रक्रियाका लागि शिलान्यास गर्न म आफैं आउने कमिटमेन्ट गरेको छु, हरहालतमा निर्माण प्रक्रियामा जान्छ,’ उनले भने, ‘पहिलेजस्तो उद्घाटन शिलान्यास हुने तर काम नहुने भन्ने चिन्ता थियो हिजो उर्जा मन्त्रालयमा पर्याप्त छलफल गरेका छौं, यही पटक निर्माण प्रक्रियाको शिलान्यास र प्रक्रिया अघि बढ्छ भन्ने विश्वासका साथ उपस्थिति भएको छु ।’

क्याबिनेटका सहयात्रीले पनि यो संकल्प लिएको उनले जनाए । ‘यो फिल्ड कार्यालय उद्घाटनका लागि मात्र आएको होइन, आवश्यक पर्ने सबै गृहकार्य गरेर यो परियोजना अघि बढाउने संकल्प उर्जा मन्त्रालयको मात्र होइन अर्थदेखि अन्य समन्वय र सहकार्य आवश्यक पर्ने कार्यालयसहित आएका छौं ।’ बुढीगण्डकी जलविद्युत् आयोजना महँगो भए पनि बहुउद्देश्यीय परियोजना भएकाले अन्य उद्देश्यबाट नाफामूलक परियोजना बन्ने दाहालले बताए ।

मुलुकमा ऊर्जा क्षेत्रको विकासका लागि यस आयोजना कोशेढुङ्गा सावित हुने प्रधानमन्त्री दाहालको भनाइ छ। एक हजार २०० मेगावाट उत्पादन क्षमता रहेको जलविद्युत् आयोजना गोरखा र धादिङको मात्र नभएर सिङ्गो देशको विकास र समृद्धिमा गुणात्मक योगदान गर्ने राष्ट्रिय गौरवको बहुआयामिक आयोजना रहेको उनको भनाई थियो ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।