एजेन्सी । विश्व व्यापार संगठन (डब्लुटीओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ ।
यसअघि सो दर २.५ प्रतिशत हुने भनिएको थियो । डब्लुटीओले यो गिरावटको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ ।
डब्लुटीओले शुक्रबार सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार, हालैका भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ ।
अमेरिकाले अगस्ट ७ मा लागू गरेको ’पारस्परिक भन्सार दर’ ले न केवल अमेरिकाको आयात घटाउनेछ, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्नेछ ।
यो असर सन् २०२५ को दोस्रो छमाहीदेखि सन् २०२६ सम्म झनै गहिरिने अनुमान गरिएको छ। सोही सन्दर्भमा डब्लुटीओले सन् २०२५ का लागि पनि व्यापार वृद्धिदरको अनुमान संशोधन गर्दै ०.९ प्रतिशत मा ल्याएको छ । यसअघि अप्रिलमा यो दर ०.२ प्रतिशत हुने पूर्वानुमान गरिएको थियो ।