काठमाडौं । राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा राजस्व छलेर नेपाल भित्र्याइएका विद्युतीय चुरोट(भेप)ठूलो मात्रामा बरामद गरेको छ । विभाग स्रोतका अनुसार दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद भएको छ । चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकाबाट भेप आयात हुँदै आएको थियो । तर यस पटक भने कोरला नाकाको पनि प्रयोग भएको छ ।
राजस्व तिरेर भेप आयात गर्न पाउने कानुनी व्यवस्था भएपनि चोरी पैठारी रोकिएको छैन । भन्सार छलेर लुकाइछिपाई भेप नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको एक गोदामबाट मात्र एक साताअघि ८६ हजार थान भेप बरामद गरेको थियो ।
राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालय तथा प्रहरीको विशेष निगरानीबाट मुस्ताङबाट ९५ कार्टुनमा १९ हजार थान भेप बरामद भएको छ । पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको विभागले जनाएको छ ।
गत १९ गते मुस्ताङको कोरोला नाकामा बरामद गरेर ल्याइएको भेप प्रहरीले राजस्व अनुसन्धानलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार गाडीमा राखेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्ट नजिकैबाट गाडीलाई नियन्त्रणमा लिएको थियो । मुस्ताङ प्रहरीले गाडीसहित चालकलाई राजस्व अनुसन्धानमा बुझाएको थियो ।