Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब टिकटकमा टेक्स्ट पोष्ट सहितको सुविधा


अब टिकटकमा टेक्स्ट पोष्ट सहितको सुविधा


काठमाडौं । चर्चित तथा लोकप्रिय सामाजिक सञ्जाल टिकटकले पनि माइक्रोब्लगिङ सुविधा थपेको छ ।
आफ्नो भिडियो स्ट्रिमिङ सुविधाका लागि चर्चित टिकटकले पछिल्लो अपडेटअनुसार प्रयोगकर्तालाई तस्बिर, शब्दहरू वा भिडियो पोष्टमध्ये के अपडेट गर्ने भनेर छान्नमिल्ने सुविधा दिएको छ । जसअनुसार भिडियो वा तस्बिरबिना शब्द वा वाक्य मात्रै पनि पोष्ट गर्न सकिनेछ ।

अहिले एक्स बन्ने क्रममा रहेको ट्विटरमा विश्वकै धनाढ्य मालिक इलन मस्कले एकपछि अर्को परिवर्तन गर्न थालेपछि सामाजिक सञ्जाल क्षेत्रका विभिन्न ठूला कम्पनीहरू ट्विटरका परम्परागत प्रयोगकर्तालाई आफूतर्फ तान्ने प्रयासमा जुटेका छन् । मस्कले दैनिक पढ्न मिल्ने ट्विटको कोटा तोकेकै साता मेटाले प्रतिस्पर्धी थ्रेड्स् एप सार्वजनिक मात्रै गरेन, केही दिनमै दस करोड प्रयोगकर्तासमेत जुटायो ।

सोमबार मस्कले ट्विटरको नयाँ लोगो र पुनर्संरचनाको घोषणा गरेसँगै टिकटक पनि एक विज्ञप्तिमार्फत् माइक्रोब्लगिङका प्रयोगकर्ता आकर्षित गर्ने दौडमा सामेल भएको हो । कतिपय ठूला देशमा प्रतिबन्ध र कानुनी समस्याको सामना गरिरहे पनि टिकटकका एक अर्बभन्दा बढी प्रयोगकर्ता छन् । तीमध्ये औसत ६० करोडले यसलाई दैनिक प्रयोग गर्ने पछिल्ला आँकडाले देखाएका छन् ।

कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ’अब प्रयोगकर्ताहरूले आफ्ना कथा, कविता, खानेकुराको रेसिपीलगायत अन्य कुराहरू लेखेर मात्रै पनि सबैसँग बाँड्न सक्नुहुनेछ ।’ यी पोस्टहरू पृष्ठभूमिको रङ, ध्वनि, स्टिकरलगायत प्रयोग गरेर आकर्षक बनाउन मिल्ने पनि कम्पनीको दाबी छ । ’हामीले थपेका पछिल्ला विकल्पले शब्द वा वाक्यलाई पनि भिडियो जस्तै गतिशील बनाउन मिल्नेगरी सुविधा उपलब्ध छ,’ टिकटकले भनेको छ ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, भारतजस्ता देशमा विभिन्न अड्चनको सामना गर्नुपरे पनि टिकटक अत्यन्तै लोकप्रिय रहेको छ । पछिल्लो आँकडाअनुसार अमेरिकामा मात्रै सो भिडियो स्ट्रिमिङ एपका १० करोडमाथि, क्यानडामा क्यानडामा ३ करोड र अस्ट्रेलियामा अढाइ करोड प्रयोगकर्ता छन् । आईटी सुरक्षा कम्पनी क्लाउडफेयरको एक सर्भेअनुसार सन् २०२१ मा टिकटकले प्रख्यात सर्च इन्जिन गुगलको भन्दा बढी भिजिटर पाउन सफल भएको थियो ।