काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरू संशोधन भएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबार बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन प्रवर्द्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताए । आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू ल्याएको प्रधानमन्त्रीको दाबी छ ।
यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको उनले बताए । अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको उनको भनाई छ ।
प्रधानमन्त्रीले भने, ‘यो एक वर्षभित्र तीन दर्जन ऐन कानूनहरू संशोधन भए । यसले आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू ल्याएको छ । यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ । हाम्रो अर्थतन्त्र ४ खर्ब रुपैयाँले विस्तार भएको छ । गएको वर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र थियो ।
देशका विभिन्न ठाउँमा भएका विपद्जन्य घटना र विश्वव्यापी प्रतिकूलताका बीच पनि राजस्व सङ्कलनमा ११.३ प्रतिशतले वृद्धि भएको छ । यो सरकारको कार्यकालको पहिलो ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढेर १५ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।
वस्तु निकासीमा अहिलेसम्मकै उच्च ८१.८ प्रतिशतले वृद्धि भएको छ । चालू खाता र शोधनान्तर दुवै बचतमा छन् । वित्तीय क्षेत्रका सूचक सबल रहेका छन् । वित्तीय पहुँच बढेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ ।’ प्रधानमन्त्री ओलीले पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको र जनसङ्ख्याको झन्डै ४८ प्रतिशत बीमाको दायरामा आएको बताए ।