Sunday, June 22, 2025

२०८२ असार ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

देशले असल अभिभावकत्व पाउन सकेन, अर्थतन्त्र खस्किँदै


देशले असल अभिभावकत्व पाउन सकेन, अर्थतन्त्र खस्किँदै

काठमाडौं । कुशल अभिभावकत्व पाउन सके खस्किँदै गएको उद्योग क्षेत्र नयाँ ढङ्गले अगाडि बढ्न सक्ने सम्भावना जीवित रहेको विराटनगरका उद्योगीले बताएका छन् । एउटा टर्निङ पोइन्टबाटै नेपाली उद्योग र अर्थतन्त्र सकारात्मक दिशामा जान सक्ने आधार विद्यमान रहेकाले सरकारले त्यस अनुसार पहल लिन ढिलाइ गर्न नहुने उनीहरूको सुझाव छ । विराटनगरमा आयोजना गरिएको ‘वर्तमान आर्थिक परिदृश्यःचरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट’ विषयक सार्वजनिक अर्थसंवाद कार्यक्रममा सहभागीले नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प नरहेको बताएका हुन् ।

उद्योग क्षेत्रमा देखिएका समस्या र समाधानका लागि सरकारले लिनुपर्ने नीतिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले सङ्कटग्रस्त बन्दै गएको उद्योग व्यवसायलाई सरकारको सानो पहलबाट नयाँ ठाउँमा मोड्दै सकारात्मक बनाउन सकिने बताए । अहिले पनि उद्योग क्षेत्रमा लोडसेडिङको समस्या कायम रहेको, कमजोर गुणस्तरको विद्युत् प्रयोग गर्न परिरहेको, बजारमा वस्तु तथा सेवाको माग घट्दै जाँदा उद्योगको उत्पादनले बजार पाउन नसक्ने अवस्था आएको, बैङ्कको कर्जा नीतिका कारण लगानी प्रोत्साहन नभइरहेको आदि समस्या उद्योगीले सामना गरिरहेको भन्दै यो अवस्थालाई लामो समय लैजान नहुने सुरानाको कार्यपत्रमा उल्लेख छ ।

प्रविधि प्रयोगको अभ्यास गर्ने क्रममा पछिल्लो समयमा अनलाइन माध्यमबाट कतिपय काम हुन थालेको भए पनि त्यसको दुरुपयोग भइरहेकोमा उद्योगीले गम्भीर प्रश्न उठाएका छन् । अनलाइनमा गएपछि भ्रष्टाचार र हैरानी झन् बढेको उद्योगीको आरोप छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै गोरखापत्र दैनिकका सम्पादक जुनारबाबु बस्नेतले चालु आर्थिक वर्ष २०८०—८१ ले आर्थिक क्षेत्रको विकासका लागि अगाडि सारेका नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्थाका बारेमा चर्चा गरे । उनले आर्थिक मन्दीका कारण सङ्कटको सामना गरिरहेको नेपाललाई नयाँ नीति बनाउने र नयाँ गन्तव्य तय गर्ने अवसर रहेको बताए ।

छलफलमा सहभागी प्रतिनिधि सभाका युवा सांसद माधव सापकोटाले संसद्मा नीति निर्माण गर्नेभन्दा बढ्ता राजनीतिले प्रवेश पाउँदा देश बनाउने नीति निर्माण गर्न ढिलाइ भइरहेको बताए। कहिले सुन काण्ड, कहिले बालुवाटार काण्ड आदि काण्डैकाण्डले संसद्मा प्रवेश पाउँदा एक वर्षको अवधिमा देश बनाउने नीति निर्माणको काम पछि परेको भन्दै संसद्मा राजनीति हाबी हुन दिन नहुने बताए।

सांसद सुमना श्रेष्ठले नेपालको आर्थिक क्षेत्रको विकास गर्न नीतिगत सुधार गर्नैपर्ने अवस्था रहेको औँल्याए। उद्योग मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकार उद्योग क्षेत्रको विकासका लागि सहयोग गर्न तत्पर रहेको भन्दै सरकारले चालु आवको बजेटबाट उद्योग क्षेत्रको विकास गर्न लिएको नीतिबारे जानकारी दिए ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बलबहादुर मिश्रले नेपालको आर्थिक सूचकाङ्कहरू बारेमा जानकारी दिँदै नेपालले बिजुली, आइटी, सिमेन्ट र पर्यटन विदेशीलाई बिक्री गर्नुपर्ने बताए। सरकारले पनि मुख्य गरी यिनै क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी गरेर विश्व बजारमा वस्तु तथा सेवा निर्यात गर्ने गरी योजना बनाउनुपर्ने र निजी क्षेत्रले त्यसमै आधारित उद्यममा लगानी गर्नु उपयुक्त हुने उनको भनाई ।