Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन


विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन

काठमाडौं । विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ । मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आइरहेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा—आउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको सङ्ख्या कटौती गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

प्रस्ताव संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए । त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि घटाइएको छ ।

मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर ९ जना पदाधिकारीमा सीमित गरिएको छ । त्यसैगरी नयाँ कार्यविधि अनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्थालाई संशोधन गर्दै सो सङ्ख्या घटाएर प्रधानमन्त्रीसहित ७ जना उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

त्यस्तै, उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारी ७ बाट घटाएर ४ पुर्‍याइएको छ । अब उक्त चार जनामा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल उपस्थित हुनेछन् । त्यसैगरी संशोधित कार्यविधि अनुसार प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा विमानस्थलमा अब कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनेछन् । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा यसअघि कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

त्यस्तै प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ६ जना पदाधिकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

यसअघि उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था थियो । नयाँ कार्यविधिअनुसार अब प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन । यसअघि राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किदा सभामुख र राष्ट्रिय सभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो ।