काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । जेठ मसान्तसम्म उक्त रकम बराबर विदेशी मुद्रा सञ्चिति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।
वस्तु आयात भने १७.६ प्रतिशत धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी मुद्रा सञ्चिति थियो ।
यो ११ महिनामा २५.९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब पुगेको हो । अमेरिकी डलरमा असार मसान्तसम्म १५ अर्ब २७ करोड रहेकोमा अहिले १८ अर्ब ६५ करोड पुगेको छ ।
विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.१ प्रतिशत छ । कुल आयातको तुलनामा १२२.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा ३४.१ प्रतिशत छ ।