Friday, June 20, 2025

२०८२ असार ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ग्वार्कोको ओभरपास उद्घाटन, आयोजना सम्पन्न हुन करिब ३२ करोड खर्च


ग्वार्कोको ओभरपास उद्घाटन, आयोजना सम्पन्न हुन करिब ३२ करोड खर्च

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ । १२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।

तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए । करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो ।

तर, काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ । २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो । ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको थियो ।