काठमाडौं । राजावादीहरुले शनिवार पनि आन्दोलन गर्ने भएका छन् । संयुक्त जनआन्दोलन मुल समितिले शनिबार आन्दोलन नगर्ने र आइतबारदेखि निरन्तर सडकमा आउने घोषणा गरेको थियो । भोलि शनिबार घोडेजात्रा पर्व भएकाले आन्दोलन नगर्ने निर्णय समितिले यसअघि गरेको हो । तर, यो निर्णयमा पुनर्विचार हुन सक्ने राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा बताउँछन् ।
भोलि घोडेजात्रा हो हामीले नगर भन्या छौं । तर आज सरकारले जस्तो हरकत र रवैया अपनायो, त्यसले गर्दाखेरि के हुन्छ भन्न सकिँदैन । सरकारले राजालाई पनि पक्राउ गर्ने कुरा गरिरहेकाले जनता आक्रोशित मनस्थितिमा रहेको उनको भनाइ छ । संयुक्त जनआन्दोलन समितिले सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको थियो । सरकारले मागको सुनवाइ नगरेको खण्डमा एक हप्तापछि आन्दोलन देशव्यापी बनाउने निर्णय समितिले गरेको थियो ।