काठमाडौं । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि दुई ‘सिफ्ट’ मा काम गर्न थालिएको हो ।
झन्डै दुई महिनायता काम सुस्त भएपछि अघिल्लो हप्ता भरतपुर महानगरपालिका मेयर रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवम् कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो । त्यसलगत्तै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिए ।
अहिले बिहान ७ देखि राति १० बजेसम्म एक सय ४० जनाभन्दा धेरै मजदुरले काम गरिरहेका र यो सङ्ख्या दुई सयभन्दा बढी पुर्याउने उनको भनाई छ । महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रङ्गशाला पुग्नुभएकी महानगरकी मेयर दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गरे ।
सङ्घीय सरकारले २५ करोड र बागमती प्रदेश सरकारले १० करोड रुपैयाँ रङ्गशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गरे ।
रङ्गशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रङ्गशालामा दुईवटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।