काठमाडौं । बिहीबारदेखि सुरु भएको निरन्तरको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । पानीको उच्च बहावका कारण अधिकांश जलविद्युत् आयोजना बन्द हुँदा आधाभन्दा धेरै विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विद्युत् प्रणालीमा २८ सय मेगावाट प्रवाह हुनुपर्नेमा शनिबार साँझको पिक समयमा एक हजार ३७० मेगावाट मात्र विद्युत् आपूर्ति हुन सकेको छ ।
काठमाडौँ उपत्यकामा चार सय मेगावाट आपूर्ति गर्नुपर्नेमा तीन सय मेगावाट मात्रै आपूर्ति गर्न सकिएको छ । नदीमा जलसतह खतराको अवस्थामा पुग्दा सुरक्षाका लागि अधिकांश आयोजना बन्द भएका हुन् । खास गरी सोलु खोला कोरीडोरका विद्युत् आयोजना, माथिल्लो तामाकोशी, चिलिमे, त्रिशूली खोला देवीघाट जलविद्युत् आयोजना पनि बन्द छन् ।
माथिल्लो त्रिशूली थ्री ए मर्मत नै भइरहेकाले विद्युत् उत्पादन छैन । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुर्याएको छ । पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ ।
प्रसारण लाइनका टावरहरू ढल्दा पूर्वी नेपाल र काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा समस्या भएको छ । दमक १३२ प्रसारण लाइनको ५१ नम्बरको टावर ढलेकाले इलामसहित ताप्लेजुङ, पाँचथरलगायतका जिल्लाका अधिकांश स्थान विद्युतविहिन छन् । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति गर्ने लामोसाँघु खिम्ती प्रसारण लाइनको सात नम्बर टावर ढल्दा उपत्यकामा विद्युत् आपूर्ति प्रभावित भएको छ ।
उपत्यकामा शनिबार दिउँसो आधाभन्दा धेरै विद्युत् आपूर्ति बन्द भएको थियो । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका थिए । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द गरिएको थियो ।