Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता


खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरण परीक्षण क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङ मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।

१ सय २ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समिति अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसन अनुगमन भ्रमण गरी निर्माण प्रगतिबारे जानकारी लिएको छ ।

मध्यभोटकोशीबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोशी–काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोक बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइन आयोजना अन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी छ ।

४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन तत्काल २०० केभीमा सञ्चालन (चार्ज) मा ल्याएर मध्यभोटेकोसीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा समाहित गरिने छ । उक्त लाइन २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।