सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र स्याङ्बोचेमाथि हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको छ । निकुञ्जको ‘कोर एरिया’ मा हेलिकोप्टर उडाउँदा वन्यजन्तुमा नकारात्मक असर गर्ने तथा ध्वनि प्रदूषणसमेत हुने भएकाले स्याङ्बोचेभन्दा माथिको हिमाली क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाइएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् ।
निकुञ्ज, नेपाली सेनाको भगवतीप्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठकले स्याङ्बोचे क्षेत्रभन्दा माथि व्यावसायिक उडान नगर्न नागरिक उड्ययन कार्यालय लुक्लालाई बिहीबार पत्र पठाएको छ ।
निकुञ्जको ‘कोर एरिया’ मा दिनको ५० भन्दा बढी हेलिकोप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर गाउँ पस्ने गरेपछि निकुञ्जले हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको रानाले जनाइन् । निकुञ्जको परिपत्रलाई अटेरी गर्दै शुक्रबार बिहानैदेखि स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा दर्जनौं हेलिकोप्टरले उडान गरेका छन् । निकुञ्ज र सरोकारवालाले निर्णय गरे पनि माथिल्लो हिमाली क्षेत्रमा हेलिकोप्टरको उडान नरोकिएको हो ।
‘हाम्रो निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अटेरी गरेर बिहानैदेखि हेलिकोप्टर उडाइरहेको छ,’ रानाले भनिन्, ‘माथिल्लो क्षेत्र संरक्षण एरिया र संवेदनशील हो, हामीले गरेको निर्णयलाई अटेरी गरे अब कानुनबमोजिम कारबाहीमा अगाडि बढ्छौं ।’ अहिले स्याङ्बोचे, लबुचे, तेङ्बोचे, फेरिचेलगायत ठाउँमा हेलिकोप्टरले विदेशी ओसारपसार गरेर व्यावसायिक उडान गरिरहेका छन् । माथिल्लो क्षेत्रमा हुने हेलिकोप्टर उडानको स्थानीय सरकार र पर्यटन व्यवसायीले पनि विरोध गर्दै आएका छन् ।
प्राधिकरणको लुक्ला कार्यालयले भने राष्ट्रिय निकुञ्जको निर्देशन मान्नुपर्ने आवश्यकता नरहेको बताएको छ । आफ्नो तालुक निकाय राष्ट्रिय निकुञ्ज नभएको र उसले भनेकै आधारमा हेलिकोप्टर उडानमा रोक लगाउन नसकिने कार्यालयका प्रमुख उमेश पन्थीले बताए ।