काठमाडौँ । फूल व्यवसायीहरूले काठमाडौंमा पुष्प मेला आयोजना गर्न लागेका छन् । काठमाडौंको भृकुटीमण्डपमा चैत १ देखि ४ सम्म आयोजना हुने मेलामा ८२ स्टल रहने जानकारी दिइएको छ । ‘फ्लोरिकल्चर एसोसिएसन नेपालले’ पुष्प मेला आयोजना गर्न लागेको हो । स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय-२६ औँ फ्लोरा एक्स्पोु नारा लिएर पुष्प मेला गर्न लागिएको हो ।
एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङका अनुसार मेलामा उत्कृष्ट स्टल, उत्कृष्ट मौसमी फूलबीच प्रतिस्पर्धा गराइनेछ । प्रथम तथा उत्कृष्ट व्यवसायीले नगद तथा विभिन्न पुरस्कार प्रदान गरिनेछ ।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले मेलाको आयोजनाको उद्देश्यबारे भने, पुष्प व्यवसाय विकास तथा वृद्धिका लागि पुष्प प्रदर्शनी आयोजना गरिएको हो । यसले देशको विकासमा पनि सहयोग पुग्नेछ । मेलामा सधै गुणस्तरीय फूल तथा पुष्प सामग्री राख्दै आएको बताउँदै उनले आगामी दिनमा पनि गुणस्तरमा कुनै कमी हुन नदिने बताए ।
पुष्प व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाको प्रदर्शन पनि गरिने बताइएको छ । उद्यमी, व्यवसायी तथा कम्पनीले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, उत्पादन बिक्री गर्न, पुष्प व्यवसायी र पुष्प उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क तथा समन्वय बढाउन, विश्व बजारमा विकास भएका नयाँनयाँ उत्पादनलाई सार्वजनिक गर्न मेलाबाट मद्दत पुग्ने मेला आयोजकले जनाएको छ ।