काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्ड सुरुचारुप हुन सकेको छैन् । मनसुन लागेसँगै विनयी खोलामा बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड पटक–पटक प्रभावित हुँदै आएको छ । यात्रु र चालकले समस्या भोग्दै आएका छन् ।
अस्ति बिहीवार राति काठमाण्डौबाट नेपालगञ्जका लागि छुटेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फस्यो । २४ जना यात्रुलाई उद्धार गरिएको थियो । प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अस्तव्यस्त बन्दा समस्या धेरै हुने गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्माणको लागि भत्काइएको सडक वर्षामा हिलाम्य हुनु स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले अझ समस्या चर्किएको बताए । अझै केही समय यात्रुले दुःख पाउने अवस्था रहेको उनले बताए । २०७५ सालदेखि विस्तारका लागि भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा यात्रा जोखिमपूर्ण छ ।
विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन । अब अस्थायी डाइभर्सन निर्माण गर्ने प्रशासनले निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिलेसम्म आठ पटक डाइभर्सन बगिसकेको छ ।
गएको पुस २८ गते विनयीखोलाको पुल भासिएको थियो । सडक विस्तारकोक्रममा निर्माण गरिएको नयाँ पुल छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ ।
सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेले नयाँ पुलमा यही असारको दोस्रो हप्ता लगत्तै गाडी चलाउन सकिने निर्माण पक्षले जानकारी गराएको बताए ।
बुटवल–नारायणगढ सडकमा दैनिक १८ हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् । सडक जाम भइरहने दाउन्ने क्षेत्रको समस्या भने तत्काल नहट्ने अवस्था छ ।