काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र संस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताए । उनले भ्रष्टाचारमा संलग्न भएका राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए ।
संवैधानिक आयोगहरूले गर्ने काम कारबाही पारदर्शी हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘सुशासनयुक्त छैन आजको हाम्रो अभ्यास, कुशासनतिर नै बढी गएको छ । त्यस कारण सुशासनका लागि पहिला हामीले जनताको विश्वास आर्जन गर्नु जरुरी छ ।
हाम्रा संवैधानिक आयोगहरूले गर्ने कामहरू जनताका लागि पारदर्शिता होउन्, जनताले स्वीकार गर्ने होउन् । अहिले भ्रष्टाचारको विषय मुख्य रूपमा उठेको छ र यो राजनीतिक नेतृत्वमाथिनै केन्द्रित छ ।
त्यस कारण राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर सकिन्छ भने त्यसको राष्ट्रियकरण गरेर जनतालाई स्पष्ट गर्न सक्दा त्यागको भावनाबाट राज्य चलाउने सङ्कल्प गर्दा मात्रै गर्न सकिन्छ ।’ शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्न सक्ने शासन प्रणाली र संस्कारको आवश्यक भएको बताए । कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।