एजेन्सी । बेलायती प्रधानमन्त्री केअर स्टार्मरले देशको अर्थतन्त्रलाई अमेरिकी करको प्रभावबाट जोगाउनका लागि सरकार हस्तक्षेप गर्न तयार रहेको बताए। बेलायती प्रधानमन्त्री स्टार्मरले केही शुल्कबाट बच्न अमेरिकासँग आर्थिक सम्झौताका लागि जोड दिइरहने बताउँदै बेलायती हितको रक्षा गर्न सरकारले हस्तक्षेप गर्नसक्ने पनि बताएको बीबीसीले जनाएको छ ।
आफूहरूलाई थाहा भएको संसार समाप्त भइसकेको चेतावनी दिँदै उनले बेलायती व्यवसायलाई अमेरिकी करको आँधीबाट बचाउन औद्योगिक नीति प्रयोग गर्न तयार रहेको कुरा टेलिग्राफमा लेखेका छन । प्रधानमन्त्री स्टार्मरले व्यापार युद्धबाट कोही पनि विजयी नहुने भन्ने आफ्नो सरकारको विश्वास दोहोर्याउँदै तत्कालको रणनीति ‘शान्त रहने र सर्वोत्तम सम्झौताका लागि लड्ने’ रहेको बताए ।
अमेरिकामा भित्रिने धेरैजसो सामानमा १० प्रतिशत आधारभूत भन्सार शुल्क हिजोदेखि लागू भएको र धेरै देशहरूले यही अप्रिल ९ तारिखदेखि थप उच्च करहरूको सामना गर्नुपर्नेछ । विज्ञहरूले अमेरिकी करले उपभोक्ताहरूका लागि मूल्य बढाउन सक्ने चेतावनी दिइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कठोर रहन प्रशासनलाई आग्रह गरेका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पको सल्लाहकारका रूपमा कार्यरत र सरकारी खर्च र जनशक्ति घटाउने प्रयासमा पनि अगुवाइ गर्दै आएका अर्बपति व्यापारी एलन मस्कले युरोप र अमेरिका शून्य–भन्सार स्थितिमा ‘आदर्श रूपमा’ सर्नुपर्छ भन्ने कुरामा सहमति भएको बताए ।