काठमाडौं । गृहमन्त्री रमेश लेखकले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरण सम्पन्न गर्नका लागि सरकार कटिबद्ध रहेको बताए । धनगढीमा आज सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले उपनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थाको आवश्यक तयारी गर्न सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिए ।
गृहमन्त्री लेखकले समाजमा अराजकता निम्त्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरुरी रहेको उल्लेख गर्दै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नु पर्नेमा जोडदिए । उनले शान्ति सुरक्षा, अमनचयन कायम राख्न तथा अपराध नियन्त्रण, विपद व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरणका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्न मातहतका निकायलाई निर्देशन दिनुहुँदै त्यसकालागि सवैका विचमा समन्वय जरुरी रहेको बताए ।