Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतबाट ल्याउने बिजुली आइतबारदेखि १२ घण्टा मात्रै आयात गर्न पाइने


भारतबाट ल्याउने बिजुली आइतबारदेखि १२ घण्टा मात्रै आयात गर्न पाइने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पुर्‍याउन भारतबाट ल्याउने बिजुली आइतबारदेखि १२ घण्टा मात्रै आयात गर्न पाइने भएको छ । अहिले दैनिक २० घण्टा बिजुली आयात गर्दै आए पनि आइतबारदेखि १२ घण्टा मात्रै बिजुली आयात गर्न पाइने भएको हो । हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ ।


गत मंसिरमा हिउँदयाममा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले मार्च १५ (चैत २) सम्म दिनको २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मा मात्रै आयात गर्ने अनुमति दिएको थियो । मार्च १६ (चैत ३) पछि दैनिक २० घण्टा बिजुली आयात गर्न दिन भारतलाई आग्रह गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘भारतलाई मार्च १६ देखि लागू हुने व्यवस्थालाई केही समय बढाउन आग्रह गरेका छौं, भारतसँग छलफलमै छौं,’ घिसिङले भने, ‘भारतको विद्युत् मन्त्रालयले छलफल गरेर जानकारी दिने बताइएको छ ।

नेपालले चाहेका बेला बिजुली लिने गरी नयाँ दर तोकिएको र त्यो दर भारतबाट आयात गर्दा र भारततर्फ निर्यात गर्दा पनि लागू हुने प्राधिकरणले बताएको छ । सन् २०२५—२०२६ का लागि गत फेब्रुअरी १३ मा बसेको पीईसी बैठकले बिजुलीको प्रतियुनिट दर तोकिसकेको छ ।

बैठकले १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आयात–निर्यातको मूल्य प्रतियुनिट ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा), ३३ केभी प्रसारण लाइनमार्फत हुने खरिद–बिक्री हुने बिजुलीको प्रतियुनिट दर ८.७८ भारु (१४ रुपैयाँ ०४ पैसा) र ११ केभी प्रसारण लाइनको प्रति युनिट दर ९.४१ भारु (१५.०५ रुपैयाँ)तोकिसकेको छ । उक्त मूल्य आगामी अप्रिलदेखि लागू हुनेछ । तर प्राधिकरणको सञ्चालक समिति बैठकले अनुमोदन र विद्युत् नियमन आयोगले स्वीकृत गरिसकेको छैन ।

मार्चभित्रै स्वीकृत नभए अप्रिलदेखि लागू नहुने प्राधिकरणको भनाइ छ । यही विषयलाई लिएर ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेका छन् । छिमेकी मुलुकमा बिजुलीको आयात–निर्यात लगायत सम्पूर्ण अख्तियारी २०७७ मै मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई दिइसकेको छ । घिसिङले मन्त्रिपरिषद्ले दिएको अधिकार प्रयोग गरी बिजुली आयात–निर्यातको मूल्यमा सहमति गरिएको बताउँदै आएका छन् ।


प्राधिकरणका अनुसार मुलुकको आन्तरिक माग १९०० मेगावाट छ । स्वदेशी उत्पादन एक हजार मेगावाट र औसत ५ सय मेगावाट बिजुली आयात गरेर आन्तरिक माग पूरा गरिरहेको प्राधिकरणले जनाएको छ । सोलार आवरमा मात्रै बिजुली आयात गर्नुपरेको खण्डमा औद्योगिक क्षेत्रमा साँझ बिजुली कटौती गर्नुपर्ने अवस्था आउन सक्ने घिसिङको भनाइ छ ।