Tuesday, June 10, 2025

२०८२ जेष्ठ २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३ महिनादेखि रोकिएको हट एयर बलुन अब नियमित सञ्चालन हुने


३ महिनादेखि रोकिएको हट एयर बलुन अब नियमित सञ्चालन हुने

काठमाडौं, भदौ ४ । मनसुनका कारण ३ महिनादेखि रोकिएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ भदौ १५ देखि नियमित हुने भएको छ। हट एयर बलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बलुन नेपालका अध्यक्ष विक्रम बादेले बताए। करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ। विगतमा एक मात्र बलुन उडाइरहेको कम्पनीले अब भने दुई वटा बलुन उडाउने बताएको छ।

अमेरिकन र भियतनामी गरी दुई जना पाइलटले बलुन उडाउने छन्। पोखराको पामेबाट हट एयर बलुन उडान हुने अध्यक्ष बादेले जानकारी दिए। उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बलुन उडाइनेछ। उनका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म उडान हुनेछ। बलुनमा उड्न नेपालीलाई ९ हजार ५ सय रुपैयाँ शुल्क रहेको छ।

यस्तै सार्क मुलुकका पर्यटकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क तोकिएको छ। उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र समेत पाइन्छ। रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ।