Sunday, July 06, 2025

२०८२ असार २२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म, महानगरपालिकाले विक्री वितरणमा रोक लगायो


विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म, महानगरपालिकाले विक्री वितरणमा रोक लगायो

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई दुई लाख रुपियाँ जरिवाना गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरूबाट २० वटा पानीको नमुना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो पछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षण गर्दा २१ वटा नमुनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो ।

प्रति एकसय मिलिमिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो । कोलोनी फर्मिङ् युनिट (सिएफयु) सूक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सूक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ ।

जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्राण्डहरुमा ब्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो । उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमुना लिइएको थियो । पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भइरहेको छ ।

भदौ १२ गते नमुना लिइएका पानीमध्ये ब्याच नं.१२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ् युनिट (सिएफयु)देखियो ।

अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन.एस.वेभरेजले उत्पादन गरेको पानी हो । ब्याच नं.६ को कोलभोतेश्वर ब्राण्डको भदौ २४ गते नमुना लिइएको हो । यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सिएफयु) छ । यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो ।

भदौ २४ गते नै नमुना लिइएका पानीहरूमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं.६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ मिनिरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटिएको थियो ।

अक्वा डिवीमा ५, अकुवामा १७, ब्याच नं.२०० को क्युव प्रोसेस ड्रिङ्किङ् वाटरमा ३ सयभन्दा धेरै र ब्याच नं.४२ को अक्वा माइल्ड ब्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट (सिएफयु) भेटिएको छ । भदौ २८ गते सङ्कलन गरिएका नमुनामध्ये अक्वा कपन र अक्वा गौरशंकरमा कोलिफर्म भेटियो । अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ ।

अक्वा कपन एम.के.मिनिरल वाटर उद्योगले बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ । अक्वा गौरी शङ्कर, गोकर्णेश्वरमा रहेको कोशी मिनिरल उद्योगले उत्पादन गर्छ ।

यस्तै कोलिफर्म भेटिएको पानीको नमुना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएपछि बिक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ ।