Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणः ८ वटा सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर


प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणः ८ वटा सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा गरी ८ वटा सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पेथोङ्थान् शिनावात्रबीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिइन ।

सरकारीस्तरबाट भएका दुई वटा सम्झौतामा परराष्ट्रमन्त्री डा. आरजु राणाले हस्ताक्षर गरिन । सरकारी स्तरबाट पर्यटन सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्र र दुई देशबीचको सांस्कृतिक सम्झौतामा हस्ताक्षर भएको हो । काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको सियाम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य बढाउने तथा उच्च शिक्षामा नवप्रर्तनलाई प्रवद्र्धन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल नेत्रज्योति सङ्घ र थाइल्यान्डको माहिडोल विश्वविद्यालयअन्तर्गतको रामाथिबोडी अस्पतालबीच पनि सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ

नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार अभिवृद्धिका विषयमा समझदारी भएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) र थाई उद्योग महासङ्घ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालको जनता एग्रो एन्ड फरेस्ट्री र थाइल्यान्डको कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधिमार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

नेपाल र थाइल्यान्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ६५ वर्षमा औपचारिक भ्रमण गर्ने ओली नेपालका पहिलो प्रधानमन्त्री बनेका छन् । थाई समकक्षीसँग भएको दुई पक्षीय बैठकपछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध र नागरिक–नागरिकबीचको सम्बन्धलाई अझ विस्तार गरेको बताए ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा भाग लिन थाइल्यान्ड पुग्नुभएका प्रधानमन्त्री ओलीले आउँदो शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि गएको असोज ७ गते संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अमेरिकाको न्युयोर्कमा दुई देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीको यो कार्यकालमा भारतबाट भ्रमणको निम्तो आएको छैन । प्रधानमन्त्री ओलीले भने न्युयोर्कमै मोदीलाई नेपाल भ्रमणको निम्तो दिए ।