काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्बाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताएका छन् । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर चौधरी नेतृत्वको टोलीले सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्ट्रिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासोसमेत गरे ।
अध्यक्ष चौधरीले देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनु पर्ने भन्दै लुव्रिकेण्टस उद्योगका नाममा तयारी सामग्री नै नेपालमा ल्याएर बिक्री वितरण भइरहेकोले यसलाई रोक्नु पर्ने धारणा राखे ।
नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि स्टयानदर्डको व्यवस्था नभएको जिकिर गर्दै बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको अध्यक्ष चौधरीको भनाइ छ । उनले सरकारले देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आर्यआर्जन गर्न सकिने बातावरण निर्माणका लागि समेत आग्रह गर्दै नाडाको ६ बुँदे लिखित सुझावसमेत पेस गरे ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भइरहेकोले सो ऐन छिट्टै पारित गर्नका लागि आग्रह गरे । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका व्याट्री उद्योगहरुको अवस्थाबारे समेत जानकारी दिनु हुँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र त्यस ठाउँलाई सेजको रुपमा प्रयोग गर्न सकिने बताए ।