Tuesday, June 17, 2025

२०८२ असार ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इजरायलमाथि आतंकवादी आक्रमण


इजरायलमाथि आतंकवादी आक्रमण

एजेन्सी । नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो । आक्रमणमा केही व्यक्ति हताहती भएको र केही घाइते भएको अवस्थामा नेपाल सरकार इजरायलको साथमा रहेको पनि वक्तव्यमा जनाइएको छ । वक्तव्यमा भनिएको छ, नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् ।

यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै रहेका छौँ । परराष्ट्र मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको बताएको छ। त्यसमध्ये ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

क्षतिको अरु विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ । इजरायलमा रहेको नेपाली दूतावास आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । दूतावासले नेपाली कामदारहरूको सुरक्षा र उद्धारका लागि इजरायली निकायहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । त्यस्तै पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ ।

मन्त्रालयले केही परेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो ।

हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् इजरायली स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी आक्रमण मा अहिलेसम्म कम्तीमा सय जना मारिएको र ९ सयभन्दा बढी घाइते भएको जनाएको छ । टाइम्स अफ इजरायलले रेडियो आर्मी रेडियोलाई उद्धृत गर्दै ९ जना हमास विद्रोही मारिएको जनाएको छ । हमास विद्रोहीले बन्धक बनाएका केही व्यक्तिलाई प्यालेस्टाइनतर्फ लगेको पनि इजरायली सञ्चार माध्यमले जनाएका छन् ।