Monday, December 01, 2025

२०८२ मंसिर १६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय विभूति कलाकार अरनिकोकाे जन्मस्थललाई प्रचारप्रसार गरिनुपर्नेमा जोड


राष्ट्रिय विभूति कलाकार अरनिकोकाे जन्मस्थललाई प्रचारप्रसार गरिनुपर्नेमा जोड

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च राख्न योगदान पुर्‍याउने राष्ट्रिय विभूति कलाकार अरनिकोकाे जन्मस्थललाई प्रचारप्रसार गरिनुपर्नेमा जोड दिनुभएको छ । 

सञ्चारमन्त्री खरेलले आज ललितपुर महानगरपालिका वडा नं. ६ कनिबहाल पुगेर अरनिकोकाे जन्म भएको महत्त्वपूर्ण ऐतिहासिक स्थललाई प्रचारप्रसार गर्न आग्रह गर्नुभएको हो ।

उहाँले कनिबहालस्थित वडा कार्यालयको अवलोकनपश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको स्थलगत अवलोकन गर्नुभएको थियो ।

सञ्चारमन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको महत्त्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई समेत आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“चीनसम्म पुगेर मूर्तिकलाको प्रचारप्रसारमा राष्ट्रिय विभूति अरनिकोले पुर्‍याउनुभएको योगदान अतुलनीय छ, हामी संस्कृति र सम्पदामा धनी छौँ, हाम्रो पुर्खाको जति सुझबुझ कार्यले अत्यन्तै महत्त्वपूर्ण सम्पदाहरु बनेका छन् ती सम्पदाको संरक्षण र प्रवर्धनमा ध्यान दिनुपर्छ।”

मन्त्री खरेलले १३ औं शताब्दीको कलाकौशल भएको रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिरसहित सम्पदास्थलको अवलोकन गर्नुभयो । सम्पदा क्षेत्र अवलोकनका क्रममा मन्त्री खरेलले जनतालाई दैनिक प्रभावकारी सेवा दिने सरकारी कार्यालय वडा हो भन्दै सङ्घीय मन्त्रीले पनि वडा अध्यक्ष र  कार्यालयलाई समन्वय र सहकार्य गर्ने नै हो भन्नुभयो ।

सञ्चारमन्त्री खरेलले सम्पदा क्षेत्रको अवलोकन तथा जानकारी लिँदै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यले सङ्घीय सरकारबाट वडाका लागि बजेट ल्याउन कठिनाइ रहेको बताउँदै सहजीकरणका लागि आग्रह गर्नुभयो । उहाँले मूर्त सम्पदा संरक्षणका लागि रकम उपलब्ध गराउन पनि सञ्चारमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

अध्यक्ष शाक्यले अरनिकोको जन्म यही वडामा भएको जानकारी गराउँदै वडाको विशेषता धातु र मूर्तिकलाको उद्यम र व्यापारको हब भएको उल्लेख गर्नुभयो ।