काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो सो मंगलबारदेखि सुरु भएको छ । नाडा अटो सो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । ‘गो फर मोर’ नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा सुरु सो भदौ ८ सम्म आयोजना हुनेछ ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पार्ट्स्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहने आयोजकले बताएको छ । एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको शोमा १ सय २५ भन्दा बढी प्रदर्शक रहनेछन् ।
करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको प्रदर्शनीस्थलमा १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र समेटिनेछ । प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स अत्याधुनिक चारपांग्रे रोबोट र दिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन् ।
भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी ४०, माज्दा फेमिलिया, टोयोटा एमआर २ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शन गरिनेछ । मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी तथा अटो पार्ट्स देखाइनेछ भने अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी सहकार्य प्रवर्द्धन गरिनेछ । ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम पनि हुनेछ ।