Sunday, October 19, 2025

२०८२ कार्तिक ३, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चालु वर्षमा अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने


चालु वर्षमा अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७  प्रतिशत (उपभोक्ता मूल्यको आधारमा) प्राप्ति हुने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ। 

चालु आर्थिक वर्षको छ देखि नौ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आकडा र आगामी तीन महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा यो वृद्धिदर हासिल हुने अनुमान गरिएको हो। 

आर्थिक क्रियाकलापलाई १८ भागमा विभाजन गरेर अर्थतन्त्रको मापन गर्ने गरिन्छ। गत वर्षको दोस्रो त्रैमासको तुलनामा यो वर्षको यही अवधिमा ४ प्रतिशतले आर्थिक वृद्धिदर भएको अनुमान गरिएको थियो। त्यस्तै पहिलो त्रैमासमा ३.२ प्रतिशतको वृद्धिदर अनुमान गरिएको थियो।

यस्तै चालु वर्षमा अर्थतन्त्रको आकार प्रचलित मूल्यमा ५७ खर्ब माथिको पुग्ने अनुमान गरिएको छ। गत वर्ष ५३ खर्ब ८१ अर्ब अर्थतन्त्रको आकार पुगेको अनुमान गरिएको थियो। सामान्यतया वृद्धिदर उपभोक्ता मूल्यमा र अर्थतन्त्रको आकार प्रचलित मूल्यमा हेर्ने गरिन्छ।

तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुन पोखरेलले अधिकांश सूचकहरू सकारात्मक देखिनुले अर्थतन्त्र सुधारोन्मुख देखिएको बताए।

एशियाली विकास बैंकले यो वर्ष ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो। त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषले ३.१ प्रतिशत र विश्व बैंकले ३.३ प्रतिशत वृद्धिदर हुने अनुमान गरेका थिए।

नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आय एक हजार चार सय ५६ डलर पुगेको अनुमान गरिएको छ। अर्थात् आजको विनिमय दर अनुसार नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आम्दानी एक लाख ९४ हजार २६ रूपैयाँ हाराहारी छ। गत वर्ष यस्तो आय एक हजार चार सय पाँच डलर थियो।