काठमाडौं, २ साउन । युरोपेली संघ (ईयू) ले नेपाललाई १ करोड ६७ लाख अमेरिकी डलर अर्थात् २ अर्ब १७ करोड रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ । जसमध्ये कृषि क्षेत्रका लागि १ करोड २० लाख डलर र विद्यालय विकास क्षेत्रमा ४७ लाख डलर खर्च हुनेछ । नेपालस्थित ईयूले विज्ञप्ति जारी गर्दै सहयोग रकमबारे जानकारी दिएको हो ।
नेपालका लागि ईयूकी राजदूत नोना डेप्रेजले सन् २०१५ देखि कृषि विकास रणनीति र सन् २०१६ देखि विद्यालय क्षेत्र विकास कार्यक्रमको सुरुआत गरेदेखि आएका नतिजा र प्रगतिप्रति खुसी व्यक्त गरिन् । कोभिड–१९ मा चुनौतीका बाबजुत नेपालले यी क्षेत्रमा प्रगति गरेको उनको भनाइ छ ।
सहयोग रकम ईयूबाट नेपाल सरकारको कोषमा सिधै प्रदान हुनेछ । ‘ईयू र नेपाल हातमा हात मिलाएर कृषि र शिक्षाको क्षेत्रमा प्राथमिकताका साथ काम गर्छन्, हामी भविष्यमा पनि बलियो रुपमा यी क्षेत्रमा साझेदार हुन्छौं,’ उनले भनिन् । ईयूका अनुसार सन् २०१९ देखि कृषि तथा ग्रामिण विकास कार्यक्रममा नेपाललाई ५ अर्ब रुपैयाँ र सन् २०१६ देखि विद्यालय क्षेत्र विकास कार्यत्रममा ११ अर्ब ३ लाख रुपैयाँ सहयोग प्रदान भइसकेको छ।